कीर्तिपुरले मेशिन जडान गरेपछि शुरु भयो निःशुल्क डायलाइसिस सेवा

मेयर खबरदाता, काठमाडौं
१५ असार । मृगौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरि कीर्तिपुर अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ । कीर्तिपुर नगरपालिकाले सो अस्पताललमा ५ वटा डायलाइसिस मेशिन जडान गरेपछि बिरामीहरु लाभान्वित भएका हुन् ।

सेवा सुरु भएसँगै नगर भित्रका मिर्गौलाका रोगीहरुलाई डायलाइसिस गर्न अन्यत्र जानुपर्ने र मोटो रकम खर्च गर्नुपर्ने बाध्यता हटेको छ । नगरपालिकाले एक करोड १० लाखको लागतमा कीर्तिपुर अस्पतालमा ५ वटा डायलाइसिस मेशिन जडान गरेर सेवा सुरु गरेको नगरपालिकाकी उपमेयर एवंं प्रवक्ता सरस्वती खड्काले मेयर खबरलाई जानकारी दिनुभयो ।

नगरबासीलाई उपचारमा सहुलियत दिने उद्देश्यले सो अस्पतालमा कीर्तिपुर नगरपालिकाले डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो । नगरभित्र नियमित डायलाइसिस गर्ने मिर्गौलाका रोगीहरु ५० भन्दा बढी रहेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यको क्षेत्रमा कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधिहरु शुरुका दिनदेखिनै संवेदनशील बन्दै गएका छन् । केही दिन अघि यो नगरपालिकाले सुविधा सम्पन्न एम्बुलेन्स समेत खरिद गरेर ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *