अब चौरजहारीमा पनि कोरोना परीक्षण हुने

मेयर खबरदाता, रुकुम पश्चिम  

१६ असार । कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण समेत सुस्त भएको भन्दै चौरजहारी नगरपालिकाले व्यक्तीमा कोरोना संक्रमण भए नभएको जाँच गर्न आफैंले पीसीआर मेसिन खरिद गरेको छ ।   पीसीआर जाँचमा ढिलाई हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको भन्दै नगरले मेसिन खरिद गरेको हो ।

सो मेशिन नगरपालिकाले वडा नम्बर २ स्थित आयुर्वेदिक अस्पतालको भवनमा राखेर प्रयोगशाला संचालनका लागि अन्य काम अन्तिम चरणमा पुर्याएको र केही दिनभित्रै कोरोना जाँच गर्न शुरु गरिने चौरजहारी नगरपालिकाले जनाएको छ ।

पीसीआर मेसिन खरिद, ल्याब स्थापनाका लागि आवश्यक पर्ने अन्य सामानसँगै जडान गरि संचालनमा ल्याउन नगरपालिकाको १ करोड २३ लाख रकम खर्च भएको मेयर विशाल शर्माले मेयर खबरलाई जानकारी दिनुभयो ।

प्रयोगशाला संचालनमा आएसँगै रुकुम पश्चिम,रुकुम पूर्व,जाजरकोट,सल्यान,डोल्पा, सुर्खेत जिल्लामा क्वारेन्टाइनमा बसेकाहरुको कोरोना जाँच गर्न सहज हुने  मेयर शर्माले बताउनुभयो ।

यसअघि चौरजहारी नगरपालिकाले प्रदेश सरकारको सहयोगमा १५ शैयाको कोरोना विशेष अस्पताल पनि १८ दिनमा निर्माण गरि संचालनमा ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *