परशुराम नगरपालिकाको विपद् कोषमा रकम सहयोग गर्नेहरु बढ्दै

मेयर खबरदाता, डडेलधुरा

१६ असार । परशुराम नगरपालिकाको विपद् व्यवस्थापन कोषमा नेपाली कांग्रेस नगर कार्य समितिले रकम जम्मा गरेको छ । नगरपालिकालाई कार्य समितिले ५१ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

कार्य समितिको आन्तरिक कोष तथा क्रियाशिल सदस्यबाट संकलन गरिएको रकम परशुराम नगरपालिकाका मेयर भिम बहादुर साउँद र उपमेयर कलावती देवी बोहरालाई समितिका कार्यवाहक सभापति शेर बहादुर धामीले हस्तान्तरण गर्नुभएको थियो ।

कोषमा जम्मा भएको रकम परशुराम नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा प्रभावितहरुका लागि खर्च गर्ने मेयर भिम बहादुर साउँदले मेयर खबरलाई जानकारी दिनुभयो ।

दुई दिन अघि परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु र नगरका ईन्जिनियर महेशसिंह धामीले पनि आफ्नो तलब काटेर नगरको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गर्नुभएको थियो ।  पनेरु र धामीले जनही १० हजारका दरले सहयोग गरेको रकम मेयर भीम बहादुर साउँदलाई हस्तान्तरण गरेका हुन ।

कोरोनाको संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न शुरुका दिनदेखि नै युद्ध स्तरमा परशुराम नगरपालिकाले काम गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *