नमोबुद्धले दियो ११ कृषकलाई बोयर जातका बोका

मेयर खबरदाता, काभ्रेपलाञ्चोक

१७ असार । नमोबुद्ध नगरपालिकाले परम्परागत बाख्रापालन गरिरहेका कृषकलाई बोयर जातको उन्नत बोका निःशुल्क वितरण गरेको छ । नश्ल सुधार गरेर उत्पादन बृद्धि गर्नका लागि ११ वटै वडाका एक एक जना कृषकलाई  नगरपालिकाले पहिलो पटक बोयर जातको बोका वितरण गरेको हो ।

उक्त बोका मेयर  टि.पी. शर्मा तिमल्सिनाले एक कार्यक्रमका बीच कृषकलाई वितरण गर्नुभएको थियो । व्यावसायिक बाख्रापालनमा कृषकलाई आकर्षित र प्रोत्साहन गर्न नगरपालिकाले  कृषकलाई पहिलो चरणमा बोयर जातको बोका दिईएको मेयर तिमल्सिनाले मेयर खबरलाई जानकारी दिनुभयो ।

बाख्रापालन गरिरहेका कृषकलाई उन्नत जातका बोका वितरण गरेपछि कृषकको आम्दानी बढ्ने र मासुजन्य उत्पादनमा सुधार आउने नमोबुद्ध नगरपालिकाले अपेक्षा गरेको छ । नगरपालिकाले बोका चितवनको जगतपुरबाट झण्डै ११ लाख रुपैयाँमा खरिद गरेर ल्याएको र बीमा समेत गरेको प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले बताउनुभयो ।

कृषकलाई दिईएका बोकाको तौल २८ देखि ३८ किलोसम्म छ । १८ महिनाभित्र थप ११ वटा बोयर बोकाका पाठा नगरपालिकालाई कृषकले दिने छन् । कृषकले दिएका पाठा  दोस्रो चरणमा ११ वटै वडाका कृषकलाई वितरण गर्ने नमोबुद्ध नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *