बाँझो जमिनमा उत्पादन बढाउन मेलम्चीले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान संचालन गर्ने

मेयर खबरदाता, सिन्धुपाल्चोक

२१ असार । मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ भन्ने अभियान चलाई बाँझो जमिनमा तरकारी र खाद्यान्न उत्पादन गर्न नगरबासीलाई प्रोत्साहन गर्ने भएको छ ।

कोरोनाको महामारीपछि स्वदेश तथा विदेशबाट रोजगारी गुमाएर गाउँ भित्रिएका नगरबासीलाई बाझो जमिनमा खेती गर्न आकर्षण गर्ने उद्देश्यले आगामी वर्ष यो अभियान संचालन गर्ने नीति लिईएको मेयर डम्बर बहादुर अर्यालले मेयर खबरलाई जानकारी दिनुभयो ।

कृषि तथा पशु विकासका लागि एकिकृत सेवा केन्द्र मार्फत कृृषकहरुलाई सेवा पुर्याइने, कृषि क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि आवश्यकता अनुसार साना सिंचाई तथा थोपा सिंचाईको व्यवस्था गर्ने र निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गरि नगरलाई तरकारी, खाद्यान्न, दुग्ध र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम संचालन गर्ने पनि मेलम्ची नगरपालिकाको नीति कार्यक्रमले समेटेको छ ।

त्यस्तै नगर भित्र तरकारी, फलफूल तथा नगदेबाली उत्पादनको पकेटक्षेत्र निर्धारण गरि विशेष कार्यक्रम सञ्चालन गर्ने, कृषिमा आधुनिक प्रविधिको विकासको लागि वास्तविक किसानको पहिचान गरि नगरले यन्त्र उपकरण खरिदमा अनुदान समेत दिने भएको छ ।

नगरवासीको खाद्य सुरक्षालाई प्रत्याभूत गरी वागमती प्रदेश सरकारले अघि सारेको ‘कोही भोकै पर्दैनन्, भोकले कोही मर्दैनन’ भन्ने अभियानलाई सार्थक तुल्याउनका लागि मुख्य खाद्यवस्तुको उत्पादनमा वृद्धि गर्न किसानलाई बीउबिजन, मलखाद आदि सहजरूपमा उपलब्ध गराउने  पनि मेलम्चीको नीति कार्यक्रममा उल्लेख छ ।

मेलम्ची नगरपालिकाले नगर सभामा आर्थिक वर्ष २०७७/०७८ का लागि १ अर्ब १३ करोड ३७ लाख २६ हजार ४ सय ५८ रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *