भद्रपुरलाई प्रदेशकै पहिलो बालमैत्री नगर घोषणा गरिदैं, तयारी अन्तिम चरणमा

मेयर खबरदाता, झापा
२६ असार । भद्रपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिने भएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धी पूरा गर्नुपर्ने १६ चरण मध्ये भद्रपुरले १४ चरण पूरा गरिसकेको छ ।

नगरले बालमैत्री स्थानीय शासनका न्यूनतम् सूचक बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता र संस्थागत विकाससम्बन्धी सूचक पूरा गरेकाले अब छिट्टै भद्रपुरलाई बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको मेयर जीवन कुमार श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।

नगरपालिकाले बाल कोष स्थापना, बालबालिकाबारे वस्तुगत विवरण तयारी, बाल मैत्री अवधारणा बारे अभिमुखीकरण, विभिन्न तहमा बाल समिति गठन, बालमैत्री स्थानीय शासन कार्य योजना निर्माण, सम्पर्क बिन्दु तोकी इकाई र शाखाको प्रबन्ध, मापदण्डको आधारमा वडा र टोलहरू निर्माण, सामुदायिक संस्थाहरू गठन, सरोकारवालाहरूको पहिचान र सञ्जाल निर्माण गरिसकेको छ ।

भद्रपुरले बालमैत्री नगर घोषणा गर्न सरोकारवालाहरूबाट प्रतिवद्धता घोषणा, आवधिक, वार्षिक योजना तर्जुमा गरि लगानीको सुनिश्चितताका साथ कार्य योजना निर्माण, स्थिति पत्र तयारी र सार्वजनिकीकरण एवम् अनुगमन, समीक्षा र मूल्याङ्कनको व्यवस्था, पुँजीगत बजेटको १५ प्रतिशत रकम विनियोजन गरी लगानी गर्ने जस्ता चरण पनि पूरा गरिसकेको छ ।

कोरोनाको संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण केही काम गर्न असहज भएकाले नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न ढिलाई भएको हो । अवस्था सहज हुने वितिकै भद्रपुर नगरपालिकालाई एक कार्यक्रमका बिच बालमैत्री नगर घोषणा गरिने मेयर श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *