मेयर शर्माले किन सोधे यस्तो प्रश्न – ‘उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?’

हिंडाईको गति अझ तेज बनाउनुपर्ने बेलामा उल्टो हिंडियो भने के होला ? कहाँ पुगिएला ? कवि शर्माको प्रश्न यहि हो । स्थानीय सरकारको नगरसभा चलिरहेका बेला मेयर पनि रहनुभएका कवि टिपी शर्माले गर्नुभएको यो प्रश्न कता लक्षित छ ? किन यस्तो प्रश्न गर्नुपर्ने अवस्था आयो ? यि सबैको उत्तर हामी समाचारमा खोज्नेछौं । तर, आज मेयर साहित्यमा कवि टिपी शर्मा तिमल्सिनाको त्यहि बेजोड कविता ‘उल्टो हिंडे कहाँ पुगिन्छ ?’ प्रकाशित गरेका छौं । –सम्पादक

 

 

एउटै ओछ्यानमा सुतेपछी गोडा लाग्छ
तर, रिसाउनु हुँदैन।
फुटेको ऐना जतिसुकै जोडेपनी फुट्दै जान्छ
तर, जोडिंदैन।
खेत जोत्दा गोरुको हल मिल्नुपर्छ
दायाँलाई – बायाँ
र, बायाँलाई – दायाँ जोडेर
गोरु दुर्घटनामा जानसक्छ
तर, खेत जोतिंदैन।

सँगै हिडेपछी कहिलेकाँही ठेस लाग्छ
त्यसलाई दुश्मनी बनाउनु हुँदैन।
फराकिलो छाती हुनेहरु महान हुन्छन
छोटो चित्तले महानता पाइदैन।
दुधमा नै घिउ हुन्छ
प्रक्रिया नपुर्‍याइ घिउ आफैं आउँदैन।

एकता नै ठूलो शक्ति हो
फुटेर लक्ष्य भेट्टाउन सकिंंदैन।
सहकार्यमा आत्मियता हुनुपर्छ
अविश्वासले मित्रता फस्टाउँँदैन।
समस्यालाई बुझेर समाधान खोज्नुपर्छ
आवेशले कहिले निकास पहिल्याउँँदैन।

बोल्नुभन्दा अघि धेरै सोच्नुपर्छ
शब्दहरु कतै उच्चारणमै गलत त छैन ?
सिद्धान्त व्यवहारिक हुनुपर्छ
जडताले सिद्धान्त मौलाउँदैन।
हिंडेपछी गन्तव्यमा पुग्नुपर्छ
उल्टो हिंडे कहाँ पुगिन्छ थाहा छैन ?

(कवि टि.पी.शर्मा तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *