मेरो गाउँ

तिमीलाई मेरो गांउमा नआउन भनेको थिएँ
तिमी कोरोना बनेर फडा फिंजाएर गाउँको हुर्मत लियौ
सलहको आतंक बनेर गाउँलेलाई फेरि गिजोल्यौ
प्राकृतिक बिपदले घरबास बगायौ–डुबायौ
हामी गाउँलेको जिजिविषा र सत्वमा चुनौति दियौ
चुनौतिलाई अबसरमा बदल्ने अदम्य शाहस बटुलेर
फेरि गाउँले चुनौतीलाई अवसरमा बदल्दै गन्तव्य खोज्दैछ
आफ्नो बाटो आफै पहिल्याउँदैछ, अगाडि बढ्दैछ ।

हिजो तिमीले गाउँलाई छोड्यौ, कुनै गुनासो थिएन
आफै रित्तिएर तिम्रो भबिस्यको लागि गाउँले बिदा गर्यो
कोरोना संकटमा गाउँ संझेर फेरि फर्कियौ, आश्रय खोज्दै
संकटमा आफ्नैको छाहारि चाहिन्छ, गाउँ तप्पर थियो
चुपचाप गाउँले स्वागत गर्यो, विशाल छाती बोकेर
तिमीहरूले बांझिएका खेतबारी फेरि जोत्न थाल्दा
पुरानै लयमा गाउँ फेरि फर्कँदैछ
जीवन चक्रको उकाली ओरालीमा ।

आफैले खनेका बाटाहरूले
बिपत्ति बनेर घरबास बगांउदैछ
दिगो बिकास एकादेशको कथा बनेको छ
हेलिकप्टर उडेर गाउँ आई पुगेर
राहत र पुनर्निर्माणका गुलिया आश्वासनका पुरिया बांडेर
फर्केकाहरूले चुनाब अगाडि गाउँ बिर्सन्छन्
आशाको त्यान्द्रोमा अड्किएर बिकास कुरेका गाउँले
जादुको छडिमा छुमन्तर खोज्दैछ ।

मेरो गाउँ आत्मनिर्भरबाट परनिर्भर हुंदैछ
चाउचाउ, बिस्कुट र चकलेटमा रमाउन थालेको छ।
आफैले बर्सेनि मर्मत गर्ने बाटा र कुला पैनीहरू
बिकासे माखोसाङ्लोमा जेलिएर सरकारी बजेट कुर्दैछन्
सघ संस्थाहरू बिकासे अभियन्ता बनेर
हात धुन र चर्पी प्रयोग गर्न सिकाउंदै छन्
उनीहरू भन्दैछन् पाषाढ युगवाट भर्खरै अगाडि बढेको छ
मेरो गाउँ सबैखाले प्रयोगको क्रिडा भूमी बनेको छ ।

(कवि इन्द्र बस्याल भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *