भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालन

मेयर खबरदाता, काभ्रेपलाञ्चोक
२३ श्रावण । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसीमा व्यवस्थित तरकारी बजार संचालनमा आएको छ । फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजनाको सहयोगमा स्थापना भएको भकुण्डे कृषि उपज संकलन केन्द्र शुक्रबारबाट औपचारिक रुपमा संचालनमा आएको हो ।

कृषि उपज केन्द्रको शुक्रबार एक समारोहबीच मेयर टिपी शर्मा तिमल्सिना र उपमेयर रामदेवी तामाङले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । केन्द्रको उद्घाटन गर्दै मेयर शर्माले नगरपालिकाले खाद्य सूरक्षा, किसानको हकहितका लागि कार्यविधि नै बनाएर कार्यान्वयन गर्न लागेको बताउनुभयो ।

नगरपालिकामा चाँडै नै खसी बोका संकलन केन्द्र स्थापना गर्ने र त्यसबाट नमोबुद्ध नगरपालिकासहित तेमाल गाउँपालिका, रोशी गाउँपालिकाका साथै छिमेकी जिल्ला सिन्धुलीका पशुपालक किसानसमेत लाभान्वित हुने नमोवुद्ध नगरपालिकाले जनाएको छ ।

केन्द्र स्थापनाका लागि मुल्य श्रृंखला विकास आयोजनाबाट १५ लाख रुपैयाँ र नगरपालिकाको तर्फबाट ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । आयोजनाले संकलन केन्द्र स्थापनाका साथै किसानलाई उन्नत जातका बिउबिजन वितरण, आवश्यक तालिम, थोपा सिञ्चाई, तरकारी नमुना प्रदर्शनीका लागि २४ लाख १९ हजार ७ सय २५ रुपैयाँ खर्च गरेको नमोबुद्ध नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका सबै वडामा प्रति वडा ६ वटाका दरले भुसा काट्ने मेसिन हस्तान्तरण गरिएको थियो । यस्तै फलफूल तथा तरकारी मुल्य श्रृंखला विकास आयोजना र सिप्रेडको तर्फबाट प्राप्त तरकारी संकलन क्रेटसमेत हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *